काठमाडौं। सरकारले १०० दिनमा उल्लेख्य काम गर्न नसकेका तथ्यांकहरू सार्वजनिक भइरहेका बेला सत्तारुढ दलको बैठक बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको छ।
बैठकमा सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ। प्रधानमन्त्री ओलीले आज दिउँसो सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछन्।
सत्तारुढ दलकै नेताहरू सरकारको कामकारबाहीबारे सन्तुष्ट नभएका बेला प्रधानमन्त्री ओलीले सबै दललाई छलफलका लागि डाकेका हुन्। एमाले अध्यक्ष ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए। माओवादी–रास्वपालगायतका दलको गठबन्धन टुटाएर एमालेले कांग्रेससँग मिलेर सरकार बनाएको थियो।
ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका छन्। जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन्।