जोडिनुहोस
  • होमपेज
  • साफ महिला च्याम्पियनसिपः बंगलादेशविरुद्ध भिड्दै भारत

साफ महिला च्याम्पियनसिपः बंगलादेशविरुद्ध भिड्दै भारत

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज समूह चरणकै सबैभन्दा प्रतिक्षित खेल हुँदै छ । प्रतियोगितामा आज साविक विजेतासमेत रहेको बंगलादेशले प्रतियोगिताको सबैभन्दा सफल टिम भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

बंगलादेशविरुद्ध मैदान उत्रिँदा भारत यसअघि गत संस्करणको समूह चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । यसअघि सन् २०२२ मा दशरथ रंगशालामै भएको प्रतियोगितामा भारतविरुद्ध बंगलादेशले ३–० को जित निकालेको थियो । सोही संस्करणको फाइनलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले प्रतियोगिताको उपाधि चुमेको थियो । यो साफको इतिहासमा बंगलादेशले जितेको पहिलो उपाधि थियो । त्यसअघिका पाँच संस्करणमा सबै उपाधि भारतले जितेको थियो । आज यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजेदेखि सुरु हुनेछ ।

आजको खेलको नतिजाप्रति समूह ‘ए’मा पाकिस्तानको पनि चासो रहनेछ । भारतले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको थियो । बंगलादेश भने पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको थियो । यसकारण एक अंक जोडेको पाकिस्तानले पनि सेमिफाइनल पुग्ने झिनो आशा बोकेको छ ।

आजको खेलमा भारतले बंगलादेशलाई ३–० को अन्तरले पराजित गरे साविक विजेतालाई पछि पार्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह ‘ए’ मा तीन अंक जोडेको भारत शीर्ष स्थानमा छ । समान एक अंक जोडेको बंगलादेश र पाकिस्तान भने क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका