जोडिनुहोस
  • होमपेज
  • इजरायलको हवाई आक्रमणमा परी २४ घण्टामा ७० जनाको मृत्यु

इजरायलको हवाई आक्रमणमा परी २४ घण्टामा ७० जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा करिब ७० जना व्यक्तिको ज्यान गएको जनाइएको छ । उत्तरी गाजामा आक्रमण जारी रहँदा तीन महिनापछि पुनः सुरु भएको युद्ध विरामवार्ताले कुनै ठोस परिणाम देखाएको छैन ।

गाजामा विशेषगरी जबालिया, बेइतलहिया र बेइतहनुनमा केन्द्रित इजरायली सैन्य आक्रमणले चौथो हप्तामा प्रवेश गरेको छ । आइतबार इजरायलको तेल अविभको उत्तरमा रहेको रमातहशरोनमा ट्रकले बस स्टपमा ठक्कर दिँदा एक जनाको ज्यान गएको र ४० भन्दाबढी व्यक्ति घाइते भएका छन् । प्रहरीका अनुसार, यो आक्रमणलाई आतंकवादी घटना भनिएको छ र ट्रक चालकलाई गोली हानिएको थियो ।

हमास र इस्लामिक समूहले यस आक्रमणको प्रशंसा गरे पनि जिम्मा भने लिएका छैनन् । इजरायली सेनाले आइतबार कब्जा गरेको पश्चिमकिनारामा हिज्मा भन्ने ठाउँमा एक प्यालेस्टिनी व्यक्तिलाई सैनिकहरूलाई छुरा प्रहार गर्न प्रयास गर्दा गोलीहानी हत्या गरेको बताएको छ ।

इजरायली सेनाले शनिबार उत्तरी गाजामा रहेको कमल अदवान अस्पतालमा छापा मारेपछि आइतबार बिहान अस्पतालबाट फिर्ता गएको थियो । घटनामा दर्जनौं पुरुष स्वास्थ्यकर्मी र केही बिरामीलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ । शनिबार साँझ बेइतलहियामा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने जबालियामा आइतबार बिहान भएको बम विस्फोटमा २० जनाको ज्यान गएको छ । शतीक्षेत्रमा रहेको विद्यालयमाथि आक्रमण हुँदा ११ जना मारिएका छन् । इजरायली रक्षा बल (आईडीएफ)ले जबालियामा ४० भन्दाबढी ‘आतंकवादी’लाई निसाना बनाएको दाबी गरेको छ भने बेइतलहियामा भने ज्यान जानेको एकिन संख्या सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा फसेका सर्वसाधारणको अवस्था सहनै नसक्ने भएको बताएका छन् । युएनको कार्यालयले उत्तर गाजामा मृत्यु, घाइते र विनाशको उच्चस्तर देखेर महासचिव स्तब्ध भएको जनाइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेता न्याहूको भाषणको क्रममा गाजामा फसेका इजरायली बन्धकहरूको परिवारले उनको भाषण अवरुद्ध गरेका थिए । इजरायलीहरूले नेता न्याहूमाथि युद्धकै कारण बन्धकहरूलाई फिर्ता ल्याउनको लागि प्रयास नगरेको आरोप लगाएका छन् ।

यसैगरी, लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको तीन स्थानमा भएको इजरायली आक्रमणमा आइतबार कम्तिमा २१ जनाको ज्यान गएको छ ।

इजरायली सेनाले लेबनानी आतंकवादी समूह हिज्बुल्लाहसँगको लडाइँमा ७० भन्दा बढी लडाकू मारेको दाबी गरेको छ । साथै, इजरायलले आफ्ना पाँच सैनिकहरूको मृत्यु भएको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका