काठमाडौं। बंगलादेशमा हिन्दु धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा दर्ता गरिएपछि अल्पसङ्ख्यक हिन्दु समुदाय सडमा ओर्लिएका छन्।
२५ अक्टोबरमा चटगाउँको न्यु मार्केट चौराहामा विरोध प्रदर्शन गरेका चिन्मय कृष्णदास ब्रह्मचारीमाथि ‘देशको सार्वभौमिकता कमजोर बनाउने र अशान्ति सिर्जना गर्ने’ आरोपमा मुद्दा दर्ता गरिएको थियो।ब्रह्मचारी र अन्य केही व्यक्तिहरूमाथि देशद्रोहको मुद्दा दर्ता भएपछि बंगलादेशको अल्पसङ्ख्यक हिन्दु समुदायमा आक्रोश फैलिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
ब्रह्मचारीमाथि मुद्दा लगाइएको विरोधमा दसैँ हजार अल्पसङ्ख्यक हिन्दुहरूले प्रदर्शन गरेका छन्। उनीहरूले हिन्दु समुदायका नेताहरूविरुद्ध दर्ता गरिएको देशद्रोहको मुद्दा फिर्ता लिन माग गरेका छन्। हिन्दुहरूले चटगाउँको एक प्रमुख चोकमा अधिकारको माग गर्दै नाराबाजी गर्दै प्रदर्शन गरेको समाचार एजेन्सी एपीले पनि उल्लेख गरेको छ। देशका अन्य स्थानहरूमा पनि अन्य प्रदर्शनहरू भएको छ।
बंगलादेश सनातन जागरण मञ्चका नेता ब्रह्मचारी ५ अगस्टमा सेख हसिनाको नेतृत्वमा रहेको सरकार पतन भएपछि हिन्दुमाथि लक्षित आक्रमणको विरोधमा भएका प्रदर्शनहरूमा अग्रणी भूमिकामा देखिँदै आएका छन्। हसिनाको पतनपछि अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनसले गरेका छन्। आन्दोलनपछि सेख हसिना पद छाडेर भारत भाग्न बाध्य हुनुपरेको थियो। त्यसपछि न्यु मार्केट स्क्वायरमा एउटा खम्बामा राष्ट्रिय झण्डा फहराइएको थियो।
आरोपपत्रमा ब्रह्मचारी र अन्य व्यक्तिहरूमाथि राष्ट्रिय झन्डाको अपमान गरी देशद्रोह गरेको आरोप लगाइएको छ। राष्ट्रिय झण्डाको माथि धार्मिक झण्डा फहराएर राज्यलाई अस्थिर बनाउन खोजिएको आरोप ब्रह्मचारीमाथि छ।बंगलादेशमा विभिन्न मानवअधिकारका नेताहरूले ब्रह्मचारीविरुद्धको प्रहरीले गरेको कारबाहीको विरोध गरेका छन्।
१२ सेप्टेम्बरमा बंगलादेशको प्रमुख समाचार पत्रिका प्रोथोम अलोले हसिना सरकारको पतनपछि बंगलादेशमा अल्पसंख्यकहरूमा भएका आक्रमणहरूको खोजी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टमा भनिएको छ, ‘४९ जिल्लामा अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भएका छन्।’
हिन्दु समर्थकहरूका अनुसार पूर्वप्रधानमन्त्री सेख हसिनाको धर्मनिरपेक्ष सरकारको पतनपछि र हसिनाले देश छोडेपछि हिन्दुमाथि हजारौँ आक्रमण भएका छन्। बंगलादेशको लगभग १७ करोड जनसङ्ख्यामा हिन्दुहरू ८ प्रतिशत र मुसलमानहरूको सङ्ख्या ९१ प्रतिशत छ।