काठमाडौं। लेबनान र हिजबुल्लाह समूहले इजरायलसँग युद्धबिरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएका छन् ।
लेबनान र हिजबुल्लाहले इजरायलसँग युद्धबिरामका लागि सहमति जनाएको लेबनानी शीर्ष अधिकारीलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
लेबनानको संसद्का सभामुख नबिह बेरीका सहयोगी अली हसन खलिलले लेबनानस्थित अमेरिकी राजदूत लिसा जोनसनलाई लिखित जवाफ पठाएको स्पष्ट पारेका छन् ।
खलिलले लेबनानको तर्फबाट केही सकारात्मक टिप्पणीसहितको प्रस्ताव अमेरिकी राजदूतलाई पठाइएको बताएका छन् । आफूहरुले प्रस्तुत गरेको टिप्पणीमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को १७०१ प्रस्तावको पालना गरेको खलिलको भनाइ छ । राष्ट्र संघको सो प्रस्तावले इजरायल र हिजबुल्लाहबीच यसअघिको युद्ध समाप्त गरेको थियो ।
इजरायलले बेरुत र हिजबुल्लाह नियन्त्रित दक्षिणी उपनगरमा आफ्नो बमबारीबीच वार्ता गर्न खोजिरहेको बताउँदै यसले आफूहरुको स्थितीमा कुनै असर नपर्ने खलिलले स्पष्ट पारे ।
खलिलले युद्धबिराम अन्त्य गर्ने विषय अब इजरायलमा निर्भर रहेको बताए । हिजबुल्लाहले युद्धबिराम वार्ता गर्न सभामुख बेरीलाई अघि सारेको छ ।
लामो समयदेखि जारी हिजबुल्लाह र इजरायलबीचको युद्धलाई अन्त्य गर्न गत सातामात्र लेबनानस्थित अमेरिकी राजदूत जोनसनले युद्धबिरामसम्बन्धि प्रस्तावको खाका लेबनानी संसद्का सभामुख बेरीलाई बुझाएका थिए ।
युद्धबिराम वार्तालाई निरन्तरता दिन ह्वाइट हाउसका राजदूत आमोस होचस्टेन बेरुत पगेको बताइएको छ । युद्धबिरामबारे इजरायलबाट तत्काल कुनै प्रतिक्रिया भने आएको छैन् ।