जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचनः महोत्तरीको रामगोपालपुर–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

उपनिर्वाचनः महोत्तरीको रामगोपालपुर–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

महोत्तरी। सत्ता सहयात्री दलहरुले नेकपा एमालेलाई बहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको एक महिना पनि बितेको छैन।

सोही क्षेत्रको रामगोपालपुर नगरपालिका वडा नं.२ मा उपनिर्वाचन हुँदै छ। एक महिना अगाडि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र लोसपा मिलेर वनेको साझा गठबन्धनलाई लिएर अहिले उपनिर्वाचनको सन्दर्भमा चर्चाहरु सुरु भएको छ।

यद्यपि सोही क्षेत्रका संघीय संसद महेन्द्र यादवले तत्कालीन समयमा विकासको लागि साझा मोर्चा भएको तर चुनावी गठबन्धन नभएको प्रष्ट बनाएका थिए।

नेता यादवले भनेजस्तै अहिले वडा नं.२ मा सवै दलहरुले एक्लाएक्लै आफ्ना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन्। यस्ले उक्त गठबन्धन चुनावी एजेन्डा थिएन भन्ने प्रमाणित भएको छ तर चुनावी नतिजाको आँकलनका सम्बन्धमा भने महोत्तरी राजनीतिमा आफ्नै विश्लेषण सुरु भएका छन्।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादवको वडा भएको हुनाले पनि यो वडाको उपनिर्वाचन चर्चामा रहेको हो।

उक्त वडाका वडा अध्यक्ष मुकेश यादवको सडक दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचनलाई विशेषगरी मन्त्री यादवले एमाले उम्मेदवार जिताउन आफ्नो राजनीति प्रतिष्ठाको लडाईं समेत बनाएको देखिन्छ।

मृतक वडा अध्यक्ष मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादीले उनको मृत्यु सडक दुर्घटनामा नभई हत्या भएको दाबी गर्दै आएको छ। उनै मृतक मुकेशकी श्रीमती आइती देवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएर माओवादीले चुनावी कार्यक्रम गरेको छ।

नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुद्दीन खानलाई उम्मेदवार बनाएका छन्।

कुल २१३७ मतदाता रहेको यो वडामा २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार बनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए।

एमालेले उम्मेदवार बनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपावाट उम्मेदवार बनेका थिए। उनी मतको आधारमा तेस्रो स्थानमा थिए भने एमालेको उम्मेदवार कादिर हुसैन चौथो स्थानमा थिए। तर यो उपनिर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा हुने स्थानीयहरुले आँकलन गरेका छन्।

नेकपा एमालेका नेता सरोज यादव आफ्नो गृह वडा भएको र जित्नैपर्ने चुनौतीकाविच चुनावी रणनीतिक मोर्चामा छन्। यता संगठनिक मत दरिलो भएको माओवादी केन्द्र सहानुभूति र लोकप्रिय मत समेत आफूहरुको भएको दावीसहित मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस भएको र एमाले अझै प्रतिस्पर्धी नभएको दाबी गरिरहेको छ।

राजनीतिक प्रतिष्ठाको लडाईं र महिला उम्मेदवार त्यो पनि मृतक वडा अध्यक्षका अधुरो कामहरुलाई पूरा गर्न श्रीमती नै चुनावी मोर्चामा होमिनुले यतिबेला महोत्तरीमा माओवादी केन्द्र र नेकपा एमालेको नै चर्चा छ।

नेकपा एमालेले भने एक महिना अगाडि बनेको क्षेत्रीय गठबन्धनले कतै निर्वाचनमा काम गर्ने त हैन भन्ने पनि आशंका गरेको छ।

प्रतिस्पर्धामा माओवादी केन्द्र कि आइतीदेवि यादव बाहेक सवै प्रतिस्पर्धीहरु मुस्लिम समुदायबाट छन्। टेङ्गर स्थित उक्त वडामा अहिले ५०% प्रतिशत मुस्लिम समुदायको नै बाहुल्यता छ। यसरी मुस्लिम समुदायका उम्मेदवार नै उम्मेदवार हुँदा मत विभाजन हुने र आइतिदेवीलाई यो थप जित्ने आधार बन्ने कतिपयले बिश्लेषण गरेका छन्।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी बनेका थिए। त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका