जोडिनुहोस
  • होमपेज
  • बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल

बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल

काठमाडौं। प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाएका छन् ।

सोमवार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए । उनले सो परियोजना विश्वका दुई तिहाइ मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे ।

सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।

उनले भने ‘अब यो बीआरआईको जुन कुरा छ । यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो । यो अवधारणा अहिले विकास गर्दै गर्दै झण्डै झन्डै अहिले ग्लोबल अवधारण बनिसक्यो । ग्लोबल प्रोजेक्ट जस्तो बनिसक्यो । अहिले विश्वका १५३ मुलुकहरूसँग सहमति भएको छ । ३ हजार करिब सम्झौताहरू बनिसकेका छन् । र यो बीआरआई र ती मुलुकहरूको बिचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ । र, यो चीन र बीआरआई मुलुकहरूबिचको व्यापार मात्रै हेर्नुभयो भने पनि छ ट्रिलियन डलर भन्दा बढीको व्यापार हुन थालेको छ । अब यो प्रोजेक्ट चिनिया प्रोजेक्ट मात्रै भएन, यो एउटा ग्लोबल प्रोजेक्ट हो । संसारमा १९३ वटा मुलुक छन । १५३ मुलुकले यसमा सम्झौता गरिसकेका छन् । अब करिब ४० मुलुकमा त बाँकी रहे । दुई तिहाइ भन्दा बढी मुलुकका लागि बीआरआई आवश्यक रहेछ । फाइदाजनक रहेछ, लाभकारी रहेछ । त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री हो नि । कुन चाहिँ प्रोजेक्ट हामी अनुदान लिनसक्छौ, त्यो नेगोशिएशनमा भर पर्छ । कुन चाहिँ प्रोजेक्टमा हामीले लोन लिनसक्छौं, नेगोशिएशनमाथि भरपर्छ । कुन चाहिँ प्रोजेक्टमा लोन लिँदा पनि सबभन्दा सस्तोमा लोन लिन्छौ, नेगोशिएशनमाथि भर पर्छ । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राखेर छिमेकीहरूसँग, विदेशहरूसँग सम्बन्ध राख्नुपर्छ । र बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने खालको जुन कुराहरू आएको छ । यो पूर्वागहपूर्ण कुराहरू मात्रै हो । यस्ता कुराहरूमा नेपाल जस्तो एउटा स्वतन्त्र मुलुक जसले स्वतन्त्रता दिवस पनि मनाउँदैन । हामी सदासर्वदा स्वतन्त्र मुलुक हौँ । यस्तो मुलुकले त्यस प्रकारको कुनैपनि बाह्य प्रेसरहरूको आधारमा हामीले आफनो नीति बनाउने होइन । हामीले स्वतन्त्रताका साथ बीआरआई प्रोजेक्ट पनि लिनुपर्छ । अरु कुनैपनि देशबाट लिने सम्झौता, सहमतिहरू हाम्रो देशको आवश्यकता अनुसार गर्नुपर्छ । भूराजनीतिक जटिलता अहिले मात्रै होइन, धेरै पहिलेदेखि भएको छ । र यो जारी रहन्छ । त्यसकारण भूराजनीतिक जटिलता भित्र सत्तारुढ दलहरू पर्नुपर्ने आवश्यकता छैन । हाम्रो देश पर्नुपर्ने आवश्यकता छैन । कुनै नेताहरूलाई त्यसैबाट डिप्रेशेन पैदा भएको छ भने त्यो बेग्लै कुरा हो । तर नेपाल एउटा इन्डिपेन्डेन्ट कन्ट्री हो । हामीले त्यो हेल्दी ढंगले अगाडि बढ्नु पर्छ आग्रह र पूर्वाग्रहको पासोमा पर्नुहुँदैन । प्रधानमन्त्रीले के भन्नुभयो भने यसपालिको भ्रमणमा लोन सम्झौता गर्दिन भन्ने खालको कुरा गर्नुभयो । ठिक छ यो भ्रमणमा लोन सम्झौता गर्नु हुन्न भने त्यो तपाईँको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन, बीआरआईसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाहिँ असाध्यै आपत्तिजनक कुरा हो भन्ने कुरा हामीले राखेका छौं ।’

बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले फैसला गर्ने भएकाले त्यसमा अरु देशको दबाबको कुनै अर्थ नहुने पनि नेता खनालले दोहोर्याए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका