जोडिनुहोस
  • होमपेज
  • म्याग्दीको मार्फा पर्यटकको रोजाइमा

म्याग्दीको मार्फा पर्यटकको रोजाइमा

म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ पर्यटकहरुको रोजाइमा परेको छ ।

एकैनासका घर, मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् ।

स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए । ‘दुईतीन वर्षअघिसम्म छिटपुट पर्यटक घुम्न आउने मार्फामा चलचित्र जेरी र कबड्डी छायाङ्कनपछि पर्यटकको पनि चहलपहल बढेको हो’, उनले भने, ‘बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ ।’

चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटकहरु झुम्मिएका भेटिन्छन् । जेरी चलचित्र छायाङ्कन भएपछि गल्लीको नाम भक्तिगल्लीबाट जेरी भएको छ । स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन् । चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो । भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिएका हुन् ।

पर्यटकहरुले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन् । स्थानीय ब्यापारीहरुले बख्खु भाडामा लगाउँछन् । एक पटक बख्खु लगाएको दुई सयदेखि तीन सय भाडा तिर्नुपर्छ । यसैगरी याकको डमी पनि राखिएको छ । याकको डमीमा चढेर तस्विर खिचाएको एक सय ५० र सँगै तस्बिर खिचाउँदा ५० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घरहरु भएको बस्तीभित्र तस्बिर र भिडियो खिचाएको विराटनगरबाट आएकी रिमा लुइँटेलले बताइन् ।

मार्फाका गल्लीहरुको नामकारण
मुस्ताङ भ्रमणमा आउने सबैजसो नेपाली मार्फा घुम्न आउने गरेको स्थानीयवासी रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । गत कात्तिक महिनामा एक लाख १३ हजार पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए ।

पर्यटक आगमन बढेपछि मार्फा गाउँ छिर्नेदेखि बाहिरिने ठाउँसम्म रहेका ११ वटा गल्लीलाई स्थानीय नाम र नम्बरसहितको साइनबोर्ड राख्न लागेको उनले बताए । अध्यक्ष लालचनका अनुसार गल्लीलाई अमरसिङ, लुक्ने, वुद्ध, झाँक्री, धौलागिरी बेसक्याम, हाङ, जेरी, ढाक्रे, कमेडियन, स्ट्रेस फ्रि नामकरण गरिएको छ ।

‘विद्युत्को तार भूमिगत गरिएको मार्फाको बस्तीभित्र रातमा बत्ती बालेर उज्यालो पारिएको छ’, उनले भने, ‘पर्यटकलाई सहजताका लागि गल्लीको नामासँगै सङ्ख्याको साइनबोर्ड राख्न लागेका हौँ ।’

संस्कृति र प्रकृतिमा धनी
मुख्य पदमार्गमा यसअघि नै ढुङ्गाको छपनी विछ्याइएको छ । स्थानीयले घर अगाडिको पैदलमार्ग सरसफाइ गर्छन् । शाखा पैदलमार्गमा पनि छपनी ढुङ्गा विछ्याउने काम भइरहेको छ । रसिला र स्वादिलो स्याउ उत्पादन हुने मार्फा संस्कृति र प्रकृतिमा धनी छ ।

मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउँछन् । ‘मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउँदै गएको छ’, उनले भने, ‘मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउन र उनीहरुलाई भुलाउन मार्फामा धेरै आकर्षणहरु छन् ।’

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरमा माटोकै छाना र छानामाथि दाउरा राखिएको छ । मार्फालीले शताब्दीऔँ अघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड छ ।

वसन्त ऋतुमा स्याउ फुल्दा र शरदयाममा लटरम्म दाना लागेका स्याउ बगैँचा डुल्दा प्रकृतिको काँखमा रमाएको महसुस हुने काठमाडौंबाट मार्फा आएका रामशरण अधिकारीले बताए ।

लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० घरपरिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ । यहाँका परम्परागत घरमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिरेर राख्ने चलन छ ।

मार्फाको शिरमा स्याउ उद्यान निर्माणाधीन छ । जहाँबाट मार्फा गाउँ र स्याउ बगैँचाको दृष्य अवलोकन गर्न सकिन्छ । दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन भएको मार्फाका घरमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन् ।

मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ । सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँमाथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भीर गुम्बा अर्को आकर्षण पनि छ । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोग ब्याधी नआवास भनेर पुजाआजा गर्ने चलन छ ।

जापानी भिक्षु तथा अन्वेषक एकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामकरण गरिएको छ । एकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूत मानिन्छन् ।

हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शितोष्ण बागबानी विकास फार्म छ । कृषिसम्बन्धी अध्ययन अनुसन्धान र स्याउ बारी अवलोकन गर्न फार्ममा पर्यटक भुल्ने गर्छन् ।

देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिक अवलोकन भ्रमणमा आउँछन् । स्याउको राजधानीले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् । चौडापाते मार्फा रायो जातको साग मार्फामा विकास भएको हो ।

मार्फामा छ वटा स्याउको ब्रान्डी बनाउने उद्योग छन् । पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दाबढी होटेल सञ्चालनमा छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरबाट स्याउ, सकुटी, दाल, ब्रान्डी किनेर लैजाने गर्छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका