जोडिनुहोस
  • होमपेज
  • यू–१९ एसिया कपः नेपालले अफगानिस्तानलाई गर्‍यो १२३ रनमा अलआउट

यू–१९ एसिया कपः नेपालले अफगानिस्तानलाई गर्‍यो १२३ रनमा अलआउट

काठमाडौं। एसीसी यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा आउट गरेको छ। यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो।

अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो। खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे।

अर्को ओभरमा अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे। त्यसपछि पनि नेपाली बलरले उत्कृष्ट बलिङ गर्दा अफगानिस्तानको इनिङ्ग्स स्लो भएको थियो। युनिस विक्रम सिंह ठकुरी र सन्तोष यादवले अफगानिस्तानका मध्यक्रमका ब्याटरलाई खुलेर खेल्न दिएनन्। दुवैले तीन तीन विकेट लिए। युनिसले १० ओभरमा तीन मेडन राख्दा २४ रन खर्चिए। सन्तोषले ४.४ ओभरमा २२ रन दिए।

कप्तान हेमन्त र अभिषेकले दुई दुई विकेट लिन सफल भए। हेमन्तले आठ ओभरमा एक मेडन राख्दा ३७ रन दिए। अभिषेकले ६ ओभरमा १७ रन खर्चिए। समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका