मोरङ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरूबिच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गरे ।
वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको धारणा थियो ।
सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनबाट नेतृत्व चयन हुने बताए । उनी शनिवार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आएका हुन् ।