आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको चौथो तथा अन्तिम सूची सार्वजनिक गरेको छ । यो सूचीमा पार्टीका संयोजक एवम् पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित ३८ जनाको नाम छ । आपले केजरीवाललाई नयाँदिल्लीबाट टिकट दिएको छ । यसैगरी मुख्यमन्त्री आतिशीलाई कालकाजीबाट उम्मेदवार बनाइएको छ ।
मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा आर्थिक अपराध हेर्ने निकाय ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । त्यतिबेला उनी मुख्यमन्त्री पदमा थिए । तिहाड जेलमा पाँच महिना बिताएका उनी सर्वोच्चको आदेशमा धरौटीमा रिहा भएका थिए । त्यसको दुई दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि आपकी नेता आतिशी दिल्लीकी मुख्यमन्त्री बनेकी हुन् । अहिले उनै केजरीवाल र आतिशी लगायतका नेताहरुलाई आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनको प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो ।
टिकट पाएपछि केजरीवालले दिल्ली विधान सभाका सबै ७० सिटमा पार्टीले उम्मेदवार घोषणा गरेको र पार्टी पूरै आत्मविश्वासका साथ चुनाव लड्न लागेको लेखेका छन् । उनले भाजपा भने ‘गायब’ भएको पनि लेखेका छन्, ‘भाजपा गायब छ । ऊसँग न मुख्यमन्त्रीको अनुहार छ, न योजना छ र दिल्लीका लागि कुनै दृष्टिकोण छ ।’ आफूहरुसँग भने दिल्लीको विकासका लागि दृष्टिकोण, योजना र त्यसलाई लागू गर्ने पढेलेखेका राम्रो टिम रहेको दाबी केजरीवालको छ । उनले भनेका छन्, ‘भाजपासँग केबल केजरीवाललाई हटाउने मिसन छ । हामीसँग दस वर्षमा काम गरेको लामो सूची छ ।’