काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । चितवन राइनोज २१ रनले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । १७६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिको चितवनले २० ओभरमा नौ विकेटको क्षतिमा १५४ रन मात्र बनायो ।
कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक बनाए । कोल्सावालाले ३९ बलमा ५३ रन बनाउँदा बोसिस्टोले ३९ बलमा ५२ रन बनाए ।एनपीएलमा बोसिस्टोको यो दोस्रो अर्धशतक हो । यस्तै, चाडविक वाल्टनले अविजित ४६ रन बनाए ।
बलिङतर्फ चितवनका सोहेल तन्विरले दुई विकेट लिए । शरद भेषवाकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट लिए ।
विदेशी ब्याटरले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णालीले एलिमिनेटरमा चितवनलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । आजको खेलमा घरेलु ब्याटर भने चलेनन् । ओपनर रीत गौतम सोहल तन्विरको बलमा गोल्डेन डक आउट भए । रीत एनपीएलमा आफूले खेलेका दुवै खेलमा डक आउट भएका हुन् । जीशान मक्सूदलाई शरद भेषवाकरले १४ रनमा क्याच गराएका थिए । तर तेस्रो विकेटका लागि कोल्सावाला र बोसिस्टोले ५९ रनको साझेदारी गरे ।
तीन वर्षपछि नेपालमा खेल्न आएका कोल्सावाला हिजो मात्र काठमाडौं ओर्लिएका थिए । उनको विकेट रवि बोपाराले लिएका हुन् । गुल्सन झा आज पनि चल्न सकेनन् । उनी खाता खोल्न नपाउँदै मल्लको बलमा बोल्ड भएर पभेलियन फर्किए । देव खनाल तीन रनमा रन आउट भए ।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ५३ रन बनाए । कुशल मल्लले २४ बलमा २१ रन बनाउँदा विपीन रावलले १८, लुक बेनकेन्स्टिनले १६ रन बनाए ।
बलिङतर्फ कर्णालीका जीशान मक्सूदले तीन विकेट लिए । सोमपाल कामी र नन्दन यादवले दुई विकेट लिँदा विपीन शर्माले एक विकेट लिए ।
जितसँगै कर्णाली एनपीएलको क्वालिफायर प्रवेश गरेको छ । एलिमिनेटरमा पराजित भएको चितवन प्रतियोगिताबाट बाहिरिएको छ । कर्णालीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको विजेतासँग भोलि प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा आज दिउँसो सुदूरपश्चिम र जनकपुर आमनेसामने हुँदै छन् ।