काठमाडौँ — नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २१ करोड रुपैयाँ राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।
जसअनुसार १६ करोड ८० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३ करोड १५ लाख रुपैयाँ विकास बैंकमा र १ करोड ५ लाख रुपैयाँ फाइसान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले यही पुस ५ गते शुक्रबारसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ ।
यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरु भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ । जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष अनुपात कायम रहेको, खराब कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको, कर्जा निक्षेप सीडीअनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेलगायत छन् ।