कास्की। सहकारी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित पाँच जना विरुद्ध जिल्ला अदालत कास्कीमा अभियोग पत्र पेश गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछाने सहित पाँच जना विरुद्ध सरकारी वकिल कार्यालयले आज कास्की जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको हो । हाल रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता गर्ने तयारी भएको बताइएको छ ।
लामिछानेसँगै पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ विरुद्ध आज मुद्दा दर्ता हुन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो । यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।