काठमाडौं। गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटनालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो सङ्ख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे।
“आत्महत्याको विषय गम्भीर छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मृत्यु भएको छ । बाँच्न सफल २६ जनाले जुनसुकै बेला पनि आत्महत्या गर्ने खतरा हुन्छ”, उनले भने।
आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौँ विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ ।
‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्नेमा हामीले काम राखेकै छौँ । तर यत्तिले पुगेन । थप अगाडि बढ्नुप¥यो । त्यसका लागि काठमाडौँ विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धि प्राप्त गर्छौं,’ गृहमन्त्री लेखकले भने, ‘आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या उद्योग गरे पनि मृत्यु नभएका मान्छेको पहिचान गरेर प्रहरीले काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउँछ ।’
उनका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ । आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए। केही समयपछि आत्महत्यासम्बन्धी एउटा ‘एप’ विकास गरेर सबै कुरालाई एपमा समावेश गर्ने योजना रहेको पनि उनको भनाइ छ ।
आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मूल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौँ बाहिर पनि काम गर्ने अवस्था बनेको बताए