काठमाडौं। कजाखस्तानमा दुर्घटना भएको अजरबैजानको विमान रूसको हवाई रक्षा प्रणालीले खसालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ३८ जनाको ज्यान लिने गरी यही बुधबार भएको दुर्घटना रूसको हवाई रक्षा प्रणालीले खसालेको स्रोतलाई उल्लेख गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।
अनुसन्धानमा संलग्न अधिकारीहरूले रूसले प्रहार गरेको विमानभेदी क्षेप्यास्त्रका कारण सो विमान दुर्घटना भएको निष्कर्ष निकालेको रोयटर्स, यूरो न्यूज, द वालस्ट्रिट जर्नल र आनदोलु एजेन्सीले नाम नखुलाइएको सम्बद्ध स्रोतलाई उल्लेख गर्दै जनाएका हुन् । अजरबैजानको राजधानी बाकुबाट दक्षिणी रूसको चेचन्या क्षेत्रको राजधानी ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एअरलाइन्सको फ्लाइट नम्बर ८४३२ को विमान कजाखस्तानको अक्टाउ शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा यात्रु र चालकदलका सदस्य गरी ६७ जना सवार रहेकोमा ३८ जनाको मृत्यु भएको थियो भने अन्य २९ जना बाँच्न सफल भएका थिए ।
उता रूस सरकारले भने उक्त विमान दुर्घटनाबारे कुनै परिकल्पना निर्माण नगर्न सचेत गराएको छ ।