जोडिनुहोस
  • होमपेज
  • सरकारको ‘कर आतंक’ विरुद्ध आजपाको प्रदर्शन

सरकारको ‘कर आतंक’ विरुद्ध आजपाको प्रदर्शन

आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंककाविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो ।

कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दावाद, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्दोलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भगौडा विदेशीको अवैध सम्पत्ति जफत गर, ठग म्यानपावरलाई कारबाही गर, अवैध एजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् ।

यस्तै शैक्षिक विभेद बन्द गर, लैङ्गिक हिंसा अन्त्य गर, बैङ्किङ लुट बन्द गर, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दे, कबाड व्यवसायीहरूको सुरक्षा गर, अदालतको आदेश पालना गर, कवाड आन्दोलन जिन्दाबाद, सुकुम्वासी तथा फुटपाथ व्यवसायीको रक्षा गर, हाम्रो सङ्घर्ष जारी छ, धोखेबाज नेताहरू भोट फिर्ता गर, जनताको सर्वोच्चता स्थापित गर, आम जनता पार्टी जिन्दाबाद, दोस्रो स्थापना दिवस सफल पारौँ लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।

आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम सँगसँगै अगाडी बढाएको हो । दलाल दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको सङ्कल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदै छ ।

केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिइरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

सरकारको मनोमानी करले नेपालको उद्योग, व्यवसाय धराशायी बन्दै गइरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए ।

‘मुलुकको उद्योग, व्यापार धराशायी बन्दै गइरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उद्योग व्यापार ध्वस्त हुँदै गइरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधा नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’

नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उद्योगी व्यापारीलाई सेवा पनि बढी दिइरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उद्योगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए ।

‘भारतमा १४ शीर्षमा कर लिइन्छ । तर नेपालमा ४० भन्दा बढी शीर्षकमा सरकारले कर लिइरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायरा, शीर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाइलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने ।

सर्वसधारणदेखी उद्योगी व्यापारीले जताततै पाइला पिच्छे नै कर तिर्दातिरै निराश भएको बताउँदै उनले व्यवसाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिद्ध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए ।

आइतबार नै कवाड व्यवसायीहरूले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका