जोडिनुहोस
  • होमपेज
  • नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
काठमाडौं। लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो ।
 
समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन् ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंसिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक चीन भ्रमणका क्रममा चिनियाँ भाषा शिक्षण सम्बन्धी समझदारी भएको थियो ।
 
सहमति आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔंदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुशी व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य र नेपालस्थित चिनियाँ दूतावासका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका