जोडिनुहोस
  • होमपेज
  • ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना गर्दै बन्दीपुर गाउँपालिका

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना गर्दै बन्दीपुर गाउँपालिका

काठमाडौं। पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो ।

भ्रमण वर्ष सफल पार्न पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान), पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए।

“प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुर्याउने उद्देश्य सहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो“, अध्यक्ष थापाले भने ।

सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक वास बस्ने गरी ल्याउने योजना बनाइएको छ । उनले भने, “भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्याउने हाम्रो लक्ष्य छ ।“

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्याइनेछ ।

हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरवास) का साथै समग्र गाउँपालिकामा १२० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ । “भ्रमण वर्ष मार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवद्र्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवद्र्धन गरिनेछ“, उनले भने ।

भ्रमण वर्ष सफल पार्न कुल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका