काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताए । उनले अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौती गरेको भनेर बुझ्न नहुने स्पष्ट पारे ।
उपमहासचिव ज्ञवालीले सदनको पहिलो बैठकमै अध्यादेशहरु पेस हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए । उनले कानुन बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसदको अवज्ञा भन्न नहुने बताए । अध्यादेश संसदलाई अवज्ञा गर्नेगरी नभई आवश्यकताको महशुस गरेर ल्याइएको बताए ।
उपमहासचिव ज्ञवालीले भने, ‘नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको छ । सरकारले संसदको अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउनसक्छ । पाल्र्यामेन्टको अधिकारलाई कटौती गरेको होइन ।’
उपमहासचिव ज्ञवालीले दलहरुमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।