काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप २९) मा नेपालका तर्फ भएका कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री ठकुरीले छोटो समयको तयारीका कारण कोपमा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।
सरकारले कोप जान कुनै बजेट विनियोजन नगरेको र सीमित स्रोत र साधनका कारण अधिकतम रूपमा सरोकारवाला निकायलाई सहभागी गराउन नसकिएको उनले बताए ।
मन्त्री ठकुरीले ब्राजिलमा हुने आगामी कोप सम्मेलनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिए ।
उनले कोपमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याहरू विश्वमाझ उजागर गर्न सफल भएको धारणा राखे ।
विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा समितिले वन मन्त्रालयसँग छलफल गरेको हो ।