अन्तर्राष्ट्रिय
राष्ट्रपतिको शपथ लिँदै ट्रम्प, पहिलो दिनमै एक सयभन्दा बढी फाइलमा हस्ताक्षर गर्नसक्ने
काठमाडौं। डनल्ड ट्रम्पले आज अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । ट्रम्पको शपथ ग्रहण समारोहको तयारी पूरा भएको छ ।
शपथ समारोह अमेरिकी समय अनुसार सोमबार बिहान १० बजे सुरू हुनेछ । जुन नेपाली समय अनुसार आज राति पौने नौ बजे हो । समारोह सुरू भएको करिब दुई घण्टापछि ट्रम्पले शपथ लिने कार्यतालिका छ । ट्रम्पलाई अमेरिकी प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गराउनेछन् ।
माइनस ६ डिग्री तापक्रम रहेका कारण करिब ४० वर्षपछि अमेरिकामा राष्ट्रपतिको शपथ सभा हलभित्र हुन लागेको हो । यो समारोह क्यापिटल हिल्सको क्यापिटल रोटुन्डामा हुँदै छ । यसअघि सन् १९८५ मा राष्ट्रपति रोनाल्ड रेगनले चिसोका कारण सभा हलभित्रै शपथ लिएका थिए ।
समारोहमा राष्ट्रपति जो बाइडन, प्रथम महिला जिल, पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी, पूर्वराष्ट्रपतिहरू जर्ज बुश र बाराक ओबामा पनि उपस्थित हुने बताइएको छ । उपराष्ट्रपति कमला ह्यारिस भने उपस्थित नहुने सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । कमला राष्ट्रपतीय निर्वाचनमा ट्रम्पकी प्रतिस्पर्धी पनि थिइन्।
समारोहमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेली, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले, ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो र पोल्यान्डका पूर्वप्रधानमन्त्री माटेउस मोराभिक सहभागी हुनेछन् । तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने बताइएको छ ।
ट्रम्पले पदभार ग्रहण गरे लगत्तै युद्धस्तरमा काम गर्ने र पहिलो दिन नै कीर्तिमानी संख्यामा आदेश जारी गर्ने बताएका छन् । ट्रम्पले कार्यकालको पहिलो दिन सयभन्दा बढी फाइलमा हस्ताक्षर गर्न सक्ने बताइएको छ । शपथ लिनुअघि नै ट्रम्पले आफ्नो कार्यकालको हनिमुन पिरियड अर्थात् सय दिन ऐतिहासिक हुने बताएका छन् ।