जोडिनुहोस
  • होमपेज
  • डढेलो नियन्त्रणका लागि संस्थागत विकासमा जोड दिन सुझाव

डढेलो नियन्त्रणका लागि संस्थागत विकासमा जोड दिन सुझाव

काठमाडौं। वन तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले डढेलो नियन्त्रणका लागि संस्थागत विकासमा जोड दिन सुझाव दिएका छन् ।

बुधवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले डढेलो नियन्त्रणका लागि डेडिकेटेड संरचना बनाउन सुझाएका हुन् ।

उनले डढेलो नियन्त्रणका लागि संस्थागत निकाय नहुँदा भविष्यमा नेपालले डढेलो प्रकोपको चुनौती सामना गर्नुपर्ने स्थिति आउनसक्ने बताए । डढेलो नियन्त्रणका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने समेत उनको सुझाव छ । उनले डढेलो लगायत प्राकृतिक प्रकोप व्यवस्थापनका लागि प्रदेश तहमा एक करोड बजेट जाने भएपनि त्यो खर्च गर्न सक्ने अवस्था नरहेको बताए ।

उनले डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयगत छुट्टै महाशाखा खोलेर जबाफदेही बनाउन जरुरी रहेको बताए । उनले विपद् हेर्ने एकल अधिकार स्थानीय तहमा रहेका उल्लेख गर्दै स्थानीय तहहरूको क्षमता अभिवृद्धि गरी प्रमुख जिम्मेवार बनाउनुपर्ने बताए । उनले जलवायु परिवर्तनको कारण प्राकृतिक विपद्का घटनाहरू बढिरहेको उल्लेख गर्दै विद्यमान कानुनलाई परिमार्जन गरि समयानुकूल बनाउन जरुरी रहेको समेत बताए ।

उनले भने ‘डढेलो हेर्ने संरचनागत कुनैपनि निकाय नेपालमा छैन । आर्थिक व्यवस्थापन पनि डढेलो नियन्त्रणका लागि पर्याप्त छैन । अब प्रदेशमा डढेलो नियन्त्रणका लागि एक करोड मात्र बजेट जाने गरेको छ । त्यसले के गर्ने ? त्यो पनि कसले गर्ने ? संस्थागत निकायहरु पनि छैन । हामीसँग दक्ष जनशक्ति र प्रविधिको पनि अभाव छ । डढेलो न्यूनीकरणका लागि सबैभन्दा पहिले हामीले संस्थागत विकासमा जोड दिनुपर्ने अवस्था छ । वन डढेलो व्यवस्थापनको लागि एउटा डेडिकेटेड संरचना बनाउनुपर्यो । वन तथा वातावरण मन्त्रालय अथवा विपद् व्यवस्थापन प्राधिकरणअन्तर्गत एउटा कुनै महाशाखा वा शाखा खोलेर त्यसलाई जबाफदेही बनाउन आवश्यक छ । खोल्ने हो कि । त्यस्तै, संघीयतामा भएको हुनाले विपद् हेर्ने एकल अधिकार स्थानीय तहमा रहेका हुनाले स्थानीय तहको अझै क्षमता अभिवृद्धि गरी प्रमुख जिम्मेवार बनाउनुपर्ने म देख्दछु । नीतिगत व्यवस्थामा हामीले ध्यान दिनुपर्छ । समसामयिक परिवेशमा परिमार्जन गरी लागू गर्नुपर्छ । त्यो विपद् व्यवस्थापन प्राधिकरणमा मस्यौदा अन्तिम चरणमा छ । त्यसलाई एकचोटि हामीले छलफल गरेर रणनीतिलाई सबै सरोकारवाला निकायहरूलाई जिम्मेवार बनाउनुपर्छ । प्राधिकरणका सहसचिवज्यूको सदस्यतामा एउटा कार्यदल नै बनाएर एउटा रणनीति बनाउन आवश्यक छ जुन सबैको रणनीति हुन सकोस् ।’

डढेलो नियन्त्रणका लागि रणनीतिक कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका