महेन्द्रनगर। नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेसलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । पार्टी कामको सिलसिलामा गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले ०७९ को चुनावबाट जनताले म्यान्डेड दिइसकेकाले कांग्रेसले ०८४ कुर्नु पर्ने आवश्यकता नभएको बताए ।
‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने,’ उनले भने, ‘कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेका छन् । त्यसकारण हामीले ०८४ कुर्नेभन्दा पनि आजदेखि नै जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी छ ।’
कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको सयदिने विशेष अभियान कार्यक्रम सम्बोधन गर्दै नेता साउदले पार्टीबाट जितेर गएका तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैँ कांग्रेसको खोजी गर्ने जिकिर गरे ।
‘आजका दिनमा कांग्रेसबाट तीन तहमा गएका साथीहरूले उदाहरणीय काम गर्याैँ भने जनताले आफैँ ०८४ मा कांग्रेस भनेर खोज्ने छन्,’ उनले भने, ‘पार्टीका साथीहरूले देशका हरेक परिस्थितिको जवाफ दिने गरी प्रशिक्षण अभियान सञ्चालन गरिनुपर्छ । पार्टीलाई विकाससँग जोड्न आवश्यक छ । पार्टी संगठनलाई चुस्त बनाउन आवश्यक छ ।’
जनता आकांक्षा र विकासका काममा कांग्रेसको मात्रै नभएर सबै राजनीतिक पार्टीको दायित्व रहेको भन्दै साउदले सस्तो लोकप्रियता धेरै नटिक्ने भएकाले इमानदारिताका साथ जनताको बीचमा गएर जनताका मागहरू पूरा गर्न पार्टीका नेता र जनप्रतिनिधिको मुख्य जिम्मेवारी रहेकोमा जोड दिए ।
‘विकासका आयामहरूबारे पनि जनतालाई बुझाउन आवश्यक छ । जनप्रतिनिधि र पार्टीको संरचनाबीच मह र मौरीकोजस्तै सम्बन्ध रहेको छ,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘जनप्रतिनिधिले जनतालाई बाँडिरहेको मह पार्टीका कार्यकर्ताले आर्जन गरेको कुरा बिर्सिनु हुँदैन ।’
उनले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सक्रियताका साथ जिम्मेवारीमा रहेकाहरू ध्यान दिन आवश्यक रहेको बताए । ‘पार्टीका साथीहरू वडाहरूमा गएर क्रियाशील नवीकरणमा खटिन आवश्यक छ । युवा, आदिवासी, जनजाति र महिलालाई प्राथमिकतामा राखेर सदस्यता दिने काममा लाग्न साथीहरूलाई आग्रह गर्दछु,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर लैजान हामी प्रतिबद्ध छौँ ।’
नेता साउदले आरक्षी पीडित र सुकुम्बासी समस्या समाधानका लागि लाग्न आवश्यक रहेको बताए । पीडितहरूलाई राहत दिने गरी भूमि आयोगले काम सम्पन्न गर्नेमा उनले विश्वास व्यक्त गरे ।
जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट नडराएर आफ्नो काममा केन्द्रित हुन आवश्यक रहेको साउदको भनाइ थियो । ‘जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘पार्टीमा युवालाई योगदान र कामका आधारमा न्याय दिने कुरामा पनि विश्वास दिलाउन चाहन्छौँ ।’
पार्टीको सय दिने अभियानका अभियन्ता तथा केन्द्रीय सदस्य नृपबहादुर वडले स्थानीय जनप्रतिनिधि र पार्टी संरचनाबीच समन्वय आवश्यक रहेकोमा जोड दिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताए ।
‘लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसमा एकता, समन्वय र जबाफदेहिता आवश्यक हुन्छ,’ मन्त्री थापाले भने, ‘जनप्रतिनिधिले जनताप्रति र पार्टीसँग समन्वय गर्ने कुरा अनिवार्य रूपमा गर्नै पर्छ ।’