काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा आज एक सन्देश जारी गरी नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनस्र्थापना, लोकतन्त्रको संरक्षण र संवद्र्धनका लागि नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा होमिएर अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएको स्मरण गरेका छन् ।
उनले नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न शहीद दिवस मनाउने गरेको उल्लेख गरेका छन् ।
देउवाले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको बताएका छन् ।
नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न शहीद दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेमा सभापति देवाले विश्वास व्यक्त गरेका छन् ।