काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरू भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका हुन्।
उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको समेत बताए । उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ, कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्नँ । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन ।”
उनले आफ्नी श्रीमती (राधिका शाक्य) को नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको पनि बताए । “हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । धर्तीमा एकै खालका मान्छेहरू हुँदो रहेनछ क्या”, उनले भने ।