काठमाडौं। पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत भएकी छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो । सद्भावना दूत सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अभियन्ता कोइरलाले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् ।
माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरी खोप अभियान सञ्चालन हुनेछ । माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा यो अभियान सुरू हुन लागेको हो । अभियानको सम्पूर्ण तयारी पुरा भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा औसतमा हरेक दिन छ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ र चार जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छ ।