जोडिनुहोस
  • होमपेज
  • संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने

संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने

काठमाडौं। एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार संसदको पाँचौं अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभामा प्रस्तुत गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ पेश गर्ने छन् । निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि अर्थमन्त्री पौडेलले नै संसदमा पेश गर्नेछन् । अर्थमन्त्रीका तर्फबाट आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि संसदमा पेश हुनेछ ।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संसदमा पेश गर्नेछन् ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि मन्त्री अधिकारीले संसदमा पेश गर्ने कार्यसूची छ । संसदको हिउँदे अधिवेशनका रुपमा लिइने पाँचौं अधिवेशन अर्थात् दुबै संसदको संयुक्त बैठक शुक्रबार दिउँसो १ बजेदेखि बस्दैछ ।

शुक्रबारको बैठकमा संसदमा सहभागी दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूचीसमेत समेटिएको छ । नियुमित कार्यसूचीसँगै अध्यादेश पारित गरिसकेर दुईजना पूर्वसांसद (दमननाथ ढुंगाना र रामजीप्रसाद शर्मा) को शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिने महासचिव पाण्डेयले बताएका छन् ।

सत्तापक्षले अध्यादेश पेश गर्ने कार्यसूची बनाइरहँदा विपक्षी दलहरुले भने अध्यादेशविरुद्ध सशक्तरुपमा संसदमा प्रस्तुत हुने तयारी गरेका छन् ।

हेर्नुहोस् बैठकको कार्यसूची

प्रचलन खबर

धेरै टिप्पणी गरिएका