काठमाडौं। सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संवैधानिक प्रावधान अन्तर्गत नै सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा बोल्ने क्रममा उनले सरकारले अध्यादेश ल्याउँदैमा डराई हाल्नु नपर्ने पनि बताए ।
‘अध्यादेश ल्याउने बित्तिकै कार्यान्वयन गरेर केही उथलपुथल गरिहाल्नुभएको छैन । त्यसैले अध्यादेश ल्याउने बित्तिकै एकदम डराई हाल्नुपर्ने अवस्था छैन,’ अध्यक्ष राउतले भने, ‘यो संवैधानिक प्रावधान अन्तर्गतै अध्यादेशहरू ल्याइएका हुन् । त्यसलाई हामी स्वागत नै गर्छौँ । कमसेकम केही काम त भयो ।’
उनले सरकारले अझै अध्यादेश ल्याए पनि जनमत पार्टीका लागि आपत्तिको विषय नभएको समेत बताए । ‘सरकारले अध्यादेश ल्यायो । म त्यसलाई अन्यथा लिन्न । म भन्छु अझ बढी अध्यादेश ल्याए पनि हुन्थ्यो,’ राउतले भने, ‘कमसेकम देखाउनलाई त हुन्थ्यो, यति यति होमवर्क भइराखेको थियो भनेर । किनकि अध्यादेश ल्याउने बित्तिकै कार्यान्वयन गरेर केही उथलपुथल गरिहाल्नुभएको छैन ।’