जोडिनुहोस
  • होमपेज
  • विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

झापा। मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुली बत्ती निःशुल्क जडान गरिदिएको छ ।

वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रूपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए ।

उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताए ।

उनले भने, ‘स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौँ ।’

उनले वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजुली बत्तीका लागि दुई लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

आर्थिक अवस्थाका कारण खानेपानीको धारा जडान गर्न नसकेका ३० घरपरिवारको वडाले निःशुल्क रूपमा धारा जडान गरिरहेको वडाध्यक्ष बरालले बताए ।

प्रतिघरमा दश हजार ५०० रुपैयाँ खर्च गरेर धारा जडान गर्ने काम भइरहेको उनको भनाइ छ । दुई वर्षअघि निर्वाचित बनेर आएका जनप्रतिनिधिको पहलमा वडाका सबै स्थानमा खानेपानी र बिजुलीबत्तीको पहुँच पुगेको छ ।

शंकर टोलकी ६१ वर्षीया बुद्धमाया दर्जीले भनिन्, ‘वडाध्यक्ष हाम्रो भगवान् जस्तै बनेर आउनुभएको छ, घर चुहियो भने टिन फेरिदिनुहुन्छ, पानीको धारा र बत्ती पनि निःशुल्क दिनुभयो ।’

अध्यक्ष बरालले वडामा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले पाउँदै आएको सुरक्षाभत्ता समेत घरघरमा पु¥याइदिने व्यवस्था मिलाइदिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका