काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् ।
आज पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुशी व्यक्त गरे ।
वि.सं २०६४ सालमा संविधानसभाको निर्वाचनमा काठमाडौँ–१ बाट निर्वाचित भए देखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उनको भनाइ थियो ।
‘काठमाडौँ–१ मा पर्ने सबै सामुदायिक विद्यालयको स्तर सुधार्न तीनै तहको सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दो काम गरेका छौँ । हाम्रो निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैनन् । राम्रो नतिजा सुन्न पाउँदा खुशी लागेको छ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
उनले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको उल्लेख गरे ।
विद्यालयलाई अझ राम्रो बनाउन निर्वाचित सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले मिलेर काम गरिरहेको पनि उनको भनाइ थियो