काठमाडौं। महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको छ ।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएको हो । नेपालले नेदरल्यान्ड्स र थाइल्यान्ड्सँग दुई–दूई पटक गरि लगातार चौथो हार बेहोरेको हो ।
जारी सिरिजमा नेपालको ब्याटिङ लाइन चल्न सकेको छैन् । सबै खेलमा ब्याटिङ नचल्दा नेपालले लगातार हार बेहोर्नु परेको हो ।
मंगलबारपनि नेपालको ब्याटिङ नचल्दा थाइल्यान्डसँग पराजित हुन पुग्यो । जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । कविता जोशीले २४ रन थपिन् ।
पूजा महतोले १८ रनको योगदान दिइन् भने रोमा थापाले १९ रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सम्झाना खड्काले ५ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्माले ३ रन मात्रै जोड्न सकिन् । रचना चौधरी २ रनमा नटआउट रहिन् ।
टपअडर ब्याटिङ चल्न नसक्दा नेपालले लय भेटाउन सकेको छैन् ।
थाइल्यान्डका लागि थिपाच्चा पुथावाङले सर्वाधिक ४ विकेट लिइन् । फन्निता मायाले २ विकेट झारिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो ।
एक समय संकटमा परेको थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र चनिदा सुथिरुङले शानदार पारि खेलिन् । थिपाच्चा पुथावाङ २६ र चनिदा सुथिरुङ २७ रनमा नटआउट रहिन् ।
ओपनर नट्टाय बुचथमले १० रन बनाइन् । अपिसरा सुवान्चोराथीले १७ रनको योगदान दिइन् ।
नन्नपत कोन्चारोएनकाइले १९ रन थपिन् । फन्निता मायाले १ रन जोडिन् । अन्य दुई ब्याटर शून्य रनमा आउट भए ।
नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिइन् ।