![रविविरुद्धको मुद्दामा आजै फैसला आउने सम्भावना, सुरक्षा व्यवस्था कडा](https://sagarmatha.tv/wp-content/uploads/2025/01/rabi7-1024x576.jpg)
काठमाडौं। सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मंगलबार औपचारिक रूपमा मुद्दा दर्ता भएपछि, उनी बुधबार चितवन जिल्ला अदालतमा हाजिर भए । अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो, त्यसपश्चात् थुनछेक बहस सुरु गरिएको थियो ।
तर, बुधबार सुरु भएको बहस नसकिएपछि आज बिहान १० बजे पुनः सुनुवाइ सुरु भएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा भइरहेको बहसपछि सम्भवतः आजै यस मुद्दामा अदालतको फैसला आउने सम्भावना छ । यही सम्भावनालाई मध्यनजर गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ४ सय नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरी बललाई अदालत परिसर र आसपासका क्षेत्रहरूमा तैनाथ गरिएको छ । सम्भावित भीड तथा अप्रिय घटनालाई रोक्न सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।
यो प्रकरणले राजनीतिक र सामाजिक वृत्तमा चासो बढाएको छ । रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने विषयमा देशभर चासो बढिरहेको छ ।