![बागमती पुलको बिम चर्किएपछि मर्मत सुरु](https://sagarmatha.tv/wp-content/uploads/2025/02/bagmati-pul1-1024x498.jpg)
रौतहट। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको बीच भएर बग्ने बागमती नदीमा रहेको पुलको मर्मत थालिएको छ ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत सुरुआत गरेको हो । केही दिन अगाडि पुलको बिम (गिर्डर) चर्किएको थियो । पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै आठ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिए ।
यही माघ २६ गते डाइभर्सन बनाएर २८ गतेदेखि पुल मर्मतको काम थालिएको उनले जानकारी दिए । करिब ५५ वर्षअघि नेपाल सोभियत सङ्घ सहयोग अन्तर्गत निर्माण भएको बागमती नदी पुलको चार–पाँच नम्बर स्परको बीचमा रहेका बिमको बेरिङ राख्ने ‘प्याडेस्टल’ कङ्क्रिट फुटेको उनले जानकारी दिए ।
पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने काम भइरहेको प्रमुख कर्णले बताए । यही बेला अन्य बिमको पनि सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था हेर्ने उनको भनाइ छ । आगामी फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याउनेगरी काम भइरहेको उनको भनाइ छ ।
उनले चौबिसै घण्टा व्यस्त रहने पुलको यथाशीघ्र मर्मत गरेर पुलबाट सवारी सञ्चालन गराउने लक्ष्य लिएको बताए ।
पुलको ४–५ नम्बर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको सुझावका आधारमा मर्मत सुरु गरिएको हो ।