![ट्रम्पले गरे पुटिन र जेलेन्स्कीसँग बेग्ला–बेग्लै फोन वार्ता](https://sagarmatha.tv/wp-content/uploads/2025/02/volodymyr-zelensky-cuts-off-donald-trump-relationship-vladimir-putin-2-1727456372035.webp)
काठमाडौं। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बेग्ला बेग्लै र लामो टेलिफोन वार्ता गरेका छन् ।
आफुसँगको वार्तामा युद्धरत दुवै देशका राष्ट्रपतिले शान्तिकालागि चाहना व्यक्त गरेको ट्रम्पले बताएका छन् । ट्रम्पले पहिले पुटिनसँग लामो टेलिफोन वार्ता गर्नुभएको थियो भने त्यसपछि जेलेन्स्कीसँग पनि लामै वार्ता गरेका थिए ।
यी सबै कुरा हुनुअघि ट्रम्पका रक्षामन्त्री पीट हेगसेथले ब्रसेल्समा बोल्दै किएभले पश्चिमा सैन्य गठबन्धन नेटोको सदस्य बन्ने र रुसले कब्जा गरेको आफनो सबै भूभाग फिर्ता लिने लक्ष्य त्याग्नु पर्ने बताएर वासिङ्गटनको नीतिमा नाटकीय परिवर्तन आएको सन्देश दिएका थिए।
ट्रम्पले पहिले पुटिनसंग एक घण्टाभन्दा बढी र त्यसपछि जेलेन्स्की संगपनि करीब एक घण्टा नै टेलिफोन वार्ता गर्नु भएको जनाइएकोछ । दुवै समकक्षीसंगको वार्तापछि ओभल अफिसमा पत्रकारहरुसंग कुरा गर्दै ट्रम्पले आफुले पुटिनसंग निकट भविष्यमै साउदी अरबमा भेटन सक्ने जानकारी दिएका थिए । ट्रम्पले पुटिनले युक्रेन युद्धको अन्त्य चाहेको र आफुहरुबीच यसविषयमा तत्काल वार्ता शुरु गर्ने सहमति भएको जानकारी दिए । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्त दिमित्रि पेस्कोभले पनि टेलिफोन वार्ताका क्रममा दुवै राष्ट्रपति बिच एकअर्कासंग प्रत्यक्ष भेटने सहमति भएको पुष्टि गरेका छन् । युक्रेनी राष्ट्रपति कार्यालयले पनि ट्रम्प र जेलेन्स्कीबीच एक घण्टा लामो वार्ता भएको पुष्टि गरेको छ ।
यसअघि किएभमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र जेलेन्स्कीबीच भेटवार्ता भएको र दुवैबीच अमेरिकी सेनाकालागि युक्रेनमा पाइने दुलर्भ खनिज पदार्थ आपूर्ति गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएकोछ ।
रुसले तीन वर्षअघि अर्थात सन् २०२२को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण अतिक्रमण सुरु गरेको थियो । यसअघि सन् २०१४मा रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्विपलाई आफुमा गाभेको थियो । २०२२मा युक्रेनमाथि पूर्ण अतिक्रमण सुरु गरेयता रुसले डोनेत्स्क, खेर्सोन, लुगान्स्क र जापोरिजिया यी चार क्षेत्रलाई आफुमा गाभेको दावी गर्दै आएको छ ।
जारी रुस युक्रेन युद्धमा दुवै तर्फ हजारौं सेना मारिएका छन भने सयौं युक्रेनी सर्वसाधारणले समेत ज्यान गुमाएका छन् ।