![जसले जनयुद्धलाई मेटाउने दुस्साहस गर्छ उही खरानी हुन्छः अध्यक्ष दाहाल](https://sagarmatha.tv/wp-content/uploads/2025/02/prachanda-3-1024x630.jpg)
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले हजारौँ शहीदहरूको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे ।
उनले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःशाहस गर्नेहरू खरानी हुने बताए । ‘हजारौँ शहीदहरूको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ सयौँ वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ,’ अध्यक्ष दाहालले भने ।
उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा अगाडि लैजानुपर्ने बताए । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुपमा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताए । जनयुद्धमाथि अहिले पनि प्रहार भइरहेको पनि बताए।
अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको बताए ।