जोडिनुहोस
  • होमपेज
  • गाजा युद्धविराम भंग हुने खतरा बढेसँगै क्षेत्रीय मध्यस्थकर्ता इजिप्ट र कतार सम्झौता जोगाउने कसरतमा

गाजा युद्धविराम भंग हुने खतरा बढेसँगै क्षेत्रीय मध्यस्थकर्ता इजिप्ट र कतार सम्झौता जोगाउने कसरतमा

काठमाडौं। इजरायल र हमासबीचको आरोप प्रत्यारोप र चेतावनीका कारण गाजा युद्धविराम भंग हुने खतरा बढेसँगै क्षेत्रीय मध्यस्थकर्ता देशहरू इजिप्ट र कतारका वार्ताकारहरू सम्झौता जोगाउने कसरतमा जुटेका छन् ।

संकट समाधानकालागि हमासका गाजाप्रमुख खलिल अल हया नेतृत्वको एउटा उच्चस्तरिय टोली वार्ताकालागि इजिप्टको राजधानी कायरो पुगेको छ । हमासले पनि आफुहरू सम्झौताका प्रावधानप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।

यसैबीच इजरायलले मध्यस्थकर्ता देशहरूमार्फत शनिबार दिउँसोसम्ममा थप तीन जना बन्धक रिहा गरे युद्धविराम सम्झौता कायम रहने सन्देश पठाएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

यसअघि मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार दिउँसोसम्ममा बन्धक रिहा नगरे युद्धविराम भंग हुने चेतावनी दिएपछि कति जना बन्धकका सम्बन्धमा यो चेतावनी दिइएको हो भन्ने द्विविधा सिर्जना भएको थियो ।

शनिबार रिहा गर्ने भनिएका तीन जना, पहिलो चरणमा रिहा गर्ने भनिएका ३३ जनामध्ये बाँकी जिवित ९ जना वा गाजामा रहेका सबै ७६ जना भन्ने मिश्रित बयानबाजीले अन्यौल थपेको थियो । सरकारका एक जना मन्त्रीले सबै ७६ जनै बन्धकका सम्बन्धमा यो चेतावनी दिइएको बताएपछि युद्धविराम सम्झौता भंग हुने सम्भावनालाई थप बल पुगेको थियो ।

इजरायलमाथि युद्धविराम सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै हमासले शनिबार गर्ने भनिएको तीन जना इजरायली बन्धकको रिहाई अर्को सूचना जारी नहुँदासम्मकालागि स्थगित गरिएको जनाएपछि तनाव सुरु भएको हो । हमासको त्यस्तो भनाई आएसँगै सोमबार नै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शनिबार दिउँसोसम्म गाजामा रहेका सबै बन्धक मुक्त नगरिए इजरायलले युद्धविराम सम्झौता तोडनु पर्ने सुझाव दिनुभएको थियो । त्यसलगत्तै मंगलबार इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको लाइन अनुरुपकै चेतावनी जारी गर्नु भएको थियो ।

यसैबीच रोयटर्सले इजरायलले आफ्ना सबै जगेडा सैनिकहरूलाई सम्भावित गाजा युद्ध पुनः सुरु हुन सक्ने अवस्थाकालागि तयार रहन निर्देशन दिएको जनाएको छ ।

जनवरी १९ देखि गाजा युद्धविराम सुरु भएयता हमासले आफ्नो नियन्त्रणमा रहेका १६ इजरायली र ५ थाइ गरी २१ जना बन्धकलाई रिहा गरिसकेको छ भने प्रत्युत्तरमा इजरायलले पाँच सय ६६ जना प्यालेष्टिनी कैदीलाई रिहा गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका