![“बर्दियामा बबई नदी तटबन्धको काम बजेट अभावका कारण अधुरो, बाढी र कटानको जोखिम अझै कायम”](https://sagarmatha.tv/wp-content/uploads/2025/02/20250130_101054-1024x457.jpg)
बर्दिया-बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम बजेट अभावका कारण अधुरै रोकिएको छ। ठेकेदार कम्पनीहरुले कामको पैसा नपाएपछि तटबन्धको काम अघि बढाउन सकिरहेका छैनन्। नदीमा यो काम रोकिएकाले गाउँबस्ती र खेतीयोग्य जमिनमा बाढी र कटानको जोखिम अझै कायम रहेको छ। बारबर्दिया नगरपालिका वडा नम्बर ७ की माता कुमारी परियारले यस विषयमा गुनासो गर्दै भनिन्, “वर्षायाममा बबईमा आउने बाढी र कटानले ठूलो धनजनको क्षती पु¥याउँछ।”
स्थानियहरुले भने, “कुन कामलाई प्राथमिकतामा राख्नुपर्ने हो भन्ने कुरा राज्यको गम्भिरता बिना अङ्कित छैन,” भन्दै राज्यको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। संघीय सांसद तथा पूर्व सिचाई मन्त्री संजय कुमार गौतमका अनुसार, यस विषयमा सदनमा पटक पटक उठाएपनि सम्बद्ध निकायले कुनै ध्यान दिएका छैनन्।
बबई नदीको बाढीबाट बर्दियाको गुलरिया र अन्य पालिकाहरुलाई सुरक्षित राख्नको लागि बबई भादा औरही नदी व्यवस्थापन आयोजना सुरु गरिएको थियो। उक्त आयोजना अन्तर्गत बाढी र कटानको उच्च जोखिममा रहेको गुलरिया सदरमुकामलाई सुरक्षित गर्नका लागि तीन वटा टेन्डरबाट कार्य संचालन भएको थियो, तर ९ करोडको बजेट अभावले काम अधुरै रहेको छ।
बबई नदीको दायाँतर्फ पन्डितपुरदेखि गौरीसम्मको २८ किलोमिटर क्षेत्रको काम बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले गरिरहेको छ। यसैबिच, विगतका बाढीले बर्दियामा ज्यान र जमिनको ठूलो क्षति पुर्याएको छ।