
काठमाडौं। सभामुख देवराज घिमिरेसँग नेपालका लागि जापानका नवनियुक्त राजदूत मायदा तोरूले भेट गरेका छन् ।
सिंहदरबारमा भएको भेटमा सभामुख घिमिरेले राजदूत मायदालाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत मायदाको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरे ।
सभामुख घिमिरेले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको औपचारिक कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै भूकम्प लगायत प्राकृतिक विपत्तिका बेला जापानले दिएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि विश्वासिलो विकास साझेदारको रूपमा रहँदै आएको उल्लेख गरे ।
नेपालको भौतिक पूर्वाधार विकासमा जापानको सहयोग उल्लेखनीय रहेको बताउँदै सभामुख घिमिरेले नागढुंगा सुरुङमार्ग परियोजनामा जापानको सहकार्य महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
उनले आगामी २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लने सुखद संयोग रहेको उल्लेख गरे ।
नेपाल जापानमा हुने ‘२०२५ वल्र्ड एक्सपो’ मा सहभागी हुन लागेको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले जापानमा हुने उक्त एक्सपोले नेपाली उत्पादन प्रचार–प्रसारमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
जापानका नवनियुक्त राजदूत मायदा तोरूले आफू २७ वर्षअघि नेपाल आएको स्मरण गर्दै तीन दशकमा नेपालको लोकतन्त्र र विकासले उल्लेखनीय फड्को मारेको बताए । उनले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै संसदीय आदान प्रदानमा जोड दिए ।
नेपाल र जापान दुवै मुलुक प्राकृतिक जोखिममा रहेको बताउँदै राजदूत मायदाले सन् २०११ मा जापानमा गएको विकासकारी भूकम्पमा नेपाली समुदायले गरेको राहत र उद्धार सहयोगको प्रशंसा गरे।