
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२ र८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । आज बुधबार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२ र ८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्नु नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्री पौडेलको भनाइ छ ।
अर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त, मूल्य मान्यता आत्मसात गरी बजेट बनाउने र विगत अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताए । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए ।
मन्त्रालयहरू र विभिन्न निकायबीच समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।
विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता मिलाएर आगामी आवको बजेट बनाउने बताएका छन् ।
अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजना स्थगन गर्दै कार्यान्वयन योग्य योजनामात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।
त्यसैगरी साना योजना रोकेर क्रमागत योजना संख्या घटाउन पनि सुझाव उनले दिए । पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजना मात्र समावेश गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ । उनले बजेट सिलिङ ध्यानमा राखेर कार्यक्रम प्रस्ताव गर्न पनि सुझाव दिए ।