
पूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने बताउँछन् । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उनको सुझाव छ ।
‘सत्ता चाहिए एउटा पार्टी खोले भो । पार्टी खोल्न एउटा नागरिकको हैसियतले उनलाई स्वतन्त्रता छ’ पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वसभामुख सापकोटाको राय छ । सापकोटाका अनुसार संविधानसम्मत आफ्ना गतिविधि गर्ने अधिकार र छुट सबै नागरिकलाई छ । एउटा नागरिकको हैसियतमा संविधानतः सबै अधिकार पूर्वराजाले उपभोग गर्न सक्छन् ।
अन्यथा, परिस्थिति प्रतिकुल बन्न सक्ने उनको चेतावनी छ । उनी भन्छन्, ‘नेपाली जनताले रगतको खोलो बगाएर प्राप्त गरेको संविधान हो । यो संविधान अन्तर्गत सबै बसौं । त्यसमा सबैको कल्याण छ ।’
१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२ र ०६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको हो । २८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक ९१५ जेठ २०६५० ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । त्यसयता पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन् ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा काठमाडौंमा राजतन्त्र पक्षधरहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । विभिन्न जिल्लाको भ्रमण गरेर पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट काठमाडौं फर्किएका थिए । उनी काठमाडौं फर्किँदा राजतन्त्र पक्षधरहरूले उनको स्वागतमा र्याली निकालेर शक्ति प्रदर्शन गरेका हुन् ।
त्यसपछि माओवादी केन्द्रले त्यसको प्रतिवाद गर्न खोजेको छ । प्रतिवादको तयारी स्वरुप सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठक पछाडि उपाध्यक्ष समेत रहेका सापकोटाले जनताको साथ प्राप्त उपलब्धी उल्ट्याउनेमा नहुने खयाल गर्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाएका हुन् ।