
काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी हुन् ।
नाउपा सांसद गंगाराम चौधरीका अनुसार बैठक मध्यबानेश्वर पार्टी कार्यालयमा बस्ने छ । उनले पार्टी एकताका विषयमा छलफल हुने एजेन्डा रहेको खबरहबलाई बताए ।
नाउपाको यो बैठकमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइन्छ । अध्यक्ष श्रेष्ठ र राउतबीच चैत २ गते भेटघाट भएको थियो । भेटमा श्रेष्ठ पनि एकताको पक्षमा रहेको दाबी जनमतले गरेको छ ।
नाउपा संरक्षक रेशम चौधरी र राउतबीच पार्टी एकताको विषयमा पटक-पटक छलफल भए पनि रञ्जितासँग छलफल भएको थिएन । रञ्जिता एकताको पक्षमा रहेको नेताहरूको भनाइ छ । तर, केन्द्रीय कमिटीमा बहुमत सदस्य बसेर एकता गर्ने या नगर्ने निर्णय हुने बताइएको छ ।
यसबारे रञ्जिता भने बोल्न चाहेकी छैनन् । उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरी भने जनमतसँग पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढिसकेको दाबी गर्छन् ।