
नेपालमा परिपक्व उमेरमा विवाह गर्ने क्रम बढेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थितिबारे विषयगत प्रतिवेन अनुसार पुरुषको विवाह गर्ने औसत उमेर २५ दशमलव ५ वर्ष रहेको छ । यसअघि २०१८ सालको जनगणना अनुसार पुरुषको विवाह गर्ने औसत उमेर १९ दशमलव ५ वर्ष थियो । यस्तै महिलाको विवाह गर्ने औसत उमेर २१ दशमलव ८ वर्ष रहेको छ ।
कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को विषयगत प्रतिवेदन अनुसार नेपालमा बालविवाह पनि घटेको पाइएको छ । २० देखि २४ वर्ष उमेर समूहका मानिसलाई सोधेको प्रश्नानुसार १५ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्या शून्य दशमलव ५ प्रतिशत रहेको पाइएको छ । यो सङ्ख्या सबैभन्दा बढी रौतहटमा १ दशमलव ४ प्रतिशत र मुस्ताङमा शून्य रहेको छ ।
यस्तै १८ वर्षभन्दा कम उमेरमा महिलाको विवाह दर २२ प्रतिशत र पुरुषको ५ प्रतिशत रहेको पाइएको छ । मधेश प्रदेशमा ३२ प्रतिशत महिलाले १८ वर्षभन्दा कम उमेरमै विवाह गरेको पाइएको पनि तथ्याङ्कमा उल्लेख छ ।
यस्तै नेपालको जनसङ्ख्याको २० दशमलव १ प्रतिशत मानिस १० देखि १९ वर्ष उमेर समूहका रहेका छन् । १५ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरीहरूको सङ्ख्या १९ दशमलव ७ प्रतिशत रहेको छ । नेपालमा किशोर–किशोरी जनसङ्ख्या २०६८ सालमा ६४ लाख १० हजार रहेकोमा २०७८ सालमा घटेर ५८ लाख ८० हजारमा सीमित भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटीले जनसङ्ख्याको बनावट बिस्तारै घट्दो गतिमा जान लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले १५ देखि २४ वर्षका युवाहरूको ध्यान विदेशमा बसाइँसराइ र पढ्न जाने ट्रेन्ड देखिएको बताउनुभयो ।





































