
काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिकाबाट केही दिनअघि सम्पर्कविहीन भएका सातै जना कर्मचारी हिजो रातिदेखि सकुशल सम्पर्कमा आएका छन्।
कामको सिलसिलामा रुकुम पूर्वतर्फ गएका उनीहरू टेलिकमको नेटवर्क नहुँदा परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका थिए।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले हिजो राति १० बजे प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुराकानी भएको जानकारी दिए । “उहाँहरूले हामी सबै सकुशल छौँ, लिवाङ फर्किंदैछौँ भन्नुभयो,” दाहालले बताए , “आज बिहान पनि फेरि सम्पर्क भएको छ।”
सम्पर्कमा आएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खा.पा.स.टे. शिवकुमार वली र सवारी चालक प्रदीप केसी छन्।
थबाङ गाउँपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरू सम्पर्कविहीन भएको जानकारी गराएको थियो। अहिले सबै कर्मचारी सकुशल सम्पर्कमा आएका र थबाङ फर्किँदै गरेका छन्।




































