जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य

त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ।गण्डकी प्रदेशको एकमात्र अन्तर्राष्ट्रिय नाका त्रिवेणी भन्सार आवश्यक पूर्वाधार अभावका कारण सञ्चालनविहीन बनेको छ । क्वारेनटाइनको निर्माण नहुँदा यहाँबाट अहिलेसम्म नियमित निकासी–पैठारी हुन सकेको छैन ।

विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएपछि पनि विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको त्रिवेणी भन्सार कार्यालयले मालसामान ओसारपसार गर्न सकेको छैन ।

भन्सार प्रमुख रामराजप्रसाद चौरासियाका अनुसार प्लान्ट, खाद्यान्न र पशु क्वारेनटाइनलगायत पूर्वाधार नबन्दा भन्सारबाट सवारीसाधनको अस्थायी नम्बर जारी गर्नेबाहेकका सेवा दिन नसकेको हो । “भारतले बाल्मीकि नगरमा क्वारेनटाइन बनाए पनि हामीकहाँ अभाव छ,” उहाँले भन्नुभयो, “त्यही कारण निकासी–पैठारी ठप्प छ ।”

हालसम्म पर्यटक नाका बनेको यस भन्सारबाट सवारीसाधन अस्थायी नम्बर र लिलामीमार्फत सीमित राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु १ करोड ७९ लाख २८ हजार राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ७४.६ प्रतिशत मात्र हो ।

चौरासियाका अनुसार निकासी–पैठारी सञ्चालन हुने पूर्वाधार निर्माण भएमा राजस्व आम्दानीमा उल्लेख्य वृद्धि गर्न सकिने छ । नारायणी नदीले सीमा छुट्याएकाले चोरी–पैठारीको जोखिम समेत न्यून रहेको उहाँको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका