
सिरहा। लहान–१० मा रहेको खुट्टी सिँचाइ नहर संरक्षण र व्यवस्थापनको अभावमा प्रयोगविहीन बनेको छ। आठ करोड ७२ लाख रुपैयाँ लगानीमा प्रदेश सरकारले २०७८ सालमा निर्माण गरेको नहर हाल अलपत्र अवस्थामा पुगेको हो।
सिँचाइका लागि बनाइएको नहरमा अहिले फोहर, झारपात र ढल मिसिएको पानी जमेर दुर्गन्ध फैलिएको स्थानीयवासीको गुनासो छ। पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको खुट्टी नहर सिँचाइ संघर्ष समितिले जनाएको छ।
समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले सोमबार मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीसमक्ष नहरको मर्मत र सञ्चालनको माग गरेका थिए।
उनीहरूले चालु खर्चअन्तर्गत छुट्याइएको १५ लाख रुपैयाँ अपार्याप्त भएको भन्दै पुनः ध्यानाकर्षण गराएका छन्।
मन्त्री लेखीले किसानको समस्या समाधानमा सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको भन्दै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





































