
भारतले शुक्रबार ७९ औँ स्वतन्त्रता दिवस मनाउँदैछ ।
दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाको पर्खालबाट झण्डोत्तोलन गरेका छन् । भने उनलाई ‘गार्ड अफ अनर’ समेत प्रदान गरिएको छ।

प्रत्येक वर्ष १५ अगस्टमा ब्रिटिस उपनिवेशवादको अन्त्य र एक स्वतन्त्र राष्ट्रको रूपमा भारतको उदयको प्रतीकका रूपमा भारतीय स्वतन्त्रता दिवस मनाइन्छ।
यो दिन भारतको स्वतन्त्रता सङ्ग्राममा अहिंसात्मक आन्दोलन, सविनय अवज्ञा र देशभक्तिको भावनाका साथ अनगिन्ती स्वतन्त्रता सेनानीहरूले देखाएको एकता र बलिदानलाई सम्मान गर्ने अवसर हो।
१५ अगस्ट, १९४७ भन्दा पहिले भारत ब्रिटिस शासनको अधीनमा थियो, र भारतीय नागरिकहरू स्वतन्त्रताको लागि लामो र कठिन सङ्घर्ष गरिरहेका थिए। यो स्वतन्त्रताको लडाइँमा असहयोग आन्दोलन (१९२०-२२), सविनय अवज्ञा आन्दोलन (१९३०-३२) र भारत छोडो आन्दोलन (१९४२) जस्ता विभिन्न आन्दोलनहरूले महत्त्वपूर्ण भूमिका खेले।
दोस्रो विश्वयुद्धपछि आर्थिक रूपमा कमजोर र थकित ब्रिटिस सरकार भारतलाई स्वतन्त्रता दिन तयार भयो। यो प्रक्रिया सन् १९४७ को भारतीय स्वतन्त्रता ऐन पारित भएसँगै टुङ्गियो, जसअन्तर्गत ब्रिटिस भारतलाई भारत र पाकिस्तान नामक दुई नयाँ डोमिनियनमा विभाजन गरियो।
यसरी, १४-१५ अगस्टको मध्यरातमा भारतले आफ्नो भाग्य कोर्यो र स्वतन्त्र राष्ट्रको रूपमा जन्मियो। स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले दिएको प्रसिद्ध ‘नियतिसँगको भेट’ भाषणबाट नयाँ राष्ट्रको यात्रा सुरु भएको थियो।
भारतमा स्वतन्त्रता दिवस देशभक्ति र एकताको भावनालाई बढवा दिने विभिन्न समारोह र सांस्कृतिक गतिविधिहरूका साथ मनाइन्छ। मुख्य कार्यक्रम राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ भारतीय प्रधानमन्त्रीले झन्डोत्तोलन गर्छन्। झन्डोत्तोलनपछि २१ तोपको सलामी र राष्ट्रगान बजाइन्छ।
आज पनि प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाबाट स्वतन्त्रता दिवसको भाषण दिनेछन्।
यस पटक देशभरका २६ राज्य र केन्द्र शासित प्रदेशहरूबाट छनोट गरिएका ८५ गाउँका सरपञ्चहरूलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ। लाल किल्ला र वरपर बहुस्तरीय सुरक्षा व्यवस्था मिलाइएको छ। ११ हजारभन्दा बढी सुरक्षाकर्मी र तीन हजार ट्राफिक प्रहरी तैनाथ गरिनेछ।
स्नाइपरहरूसँगै, एन्टी-ड्रोन युनिटहरू, सीसीटीभी क्यामेराहरू, अनुहार पहिचान प्रणालीहरू, स्वचालित नम्बर प्लेट पहिचान र सवारी साधन मुनि निगरानी प्रणालीहरू पनि तैनाथ गरिएको छ।




































