जोडिनुहोस
  • होमपेज
  • विराटनगरमा निकालिँदै देशकै ठूलो रथयात्रा

विराटनगरमा निकालिँदै देशकै ठूलो रथयात्रा

विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।

यो रथ यात्रालाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जानकारी दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत केहिदिनअघि विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताएका थिए ।

यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ ।

राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भीडले फूल र बिरुवामा क्षति पुग्ने भन्दै विराटनगर महानगरपालिकाले बरगामीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र बिरुवाको संरक्षणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ ।

महानगरले स्वयंसेवक परिचालन गरेर संरक्षण गर्ने नीति अघि सारेको हो । फूल र बिरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको थियो ।

यस्तै रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सुरक्षा योजना बनाइएको जनाएको छ । भिड व्यवस्थापन र सम्भावित आपराधिक गतिविधि हुन नदिन लागि १ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्रा कोशी प्रदेशका विभिन्न ठाउँबाट आइतबार निकालिँदै छ । रथयात्राका कार्यक्रम दिउँसो १२ बजेपछि हुनेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका