
काठमाडौँ। नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्ने कार्य सम्पन्न भएको छ।
ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित विभिन्न आयोगका प्रतिवेदनमाथि छलफल गरिएको थियो। आज सो समूहगत प्रस्तुतीकरण सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
समूहगत नेताहरूले पार्टीको भावी नेतृत्वका लागि अध्यक्ष ओलीकै निरन्तरता आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरेका छन्। सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी, कर्णालीबाट गुलाबजङ्ग शाह, लुम्बिनीबाट राधाकृष्ण कँडेल, गण्डकीबाट मीनप्रसाद गुरुङ, मधेसबाट चन्द्रेश्वर मण्डल र कोशीबाट घनश्याम खतिवडालगायतका नेताले ओलीको नेतृत्वलाई अविभाज्य विकल्पका रूपमा अघि सारेका छन्।
विधान संशोधनबारे प्रस्तुत सुझावमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको व्यवस्था हटाउनुपर्ने धारणा बहुमतले समर्थन गरेका छन् भने केही प्रतिनिधिले उक्त प्रावधान कायम राख्नुपर्ने सुझाव पनि दिएका छन्।
समूहगत प्रस्तुतिपछि सम्बन्धित नेताहरूले जवाफ दिने र अन्ततः सुझावसहित विधान पारित गर्ने तयारी गरिएको प्रचार विभाग प्रमुख गौतमले बताए। उहाँका अनुसार आजै समसामयिक प्रस्ताव पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि महाधिवेशनमा रहेको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल–सुखी नेपाली हाम्रो गन्तव्य’ नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी छन्। महाधिवेशन आजै सकिने कार्यतालिका रहेको एमालेले जनाएको छ।





































