जोडिनुहोस
  • होमपेज
  • महामन्त्री थापाप्रति सहमहामन्त्री किशोर राठौरको असन्तुष्टि

महामन्त्री थापाप्रति सहमहामन्त्री किशोर राठौरको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीका महामन्त्री गगन थापाप्रति खुला असन्तुष्टि जनाएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले गगनको बोलाइप्रति मिश्रित प्रतिक्रिया दिँदै भने — “गगन मेरो भाइ हो, बोल्दा माया लाग्छ, तर कुरा सुन्दा रिस उठ्छ।”

बैठकमा राठौरले पार्टीभित्रका केही नेताहरूले आफू र आफ्नो समूहलाई हेप्न खोजेको आरोप लगाए। उनले स्पष्ट चेतावनी दिँदै भने, “यदि चुनावअघि महाधिवेशनको मिति तोक्ने निर्णय भयो भने म नोट अफ डिसेन्ट लेख्नेछु।”

‘पलपुरकी कुरा नगरौँ, पार्टी एकता बचाऔँ’राठौरले गगन थापा नेतृत्वको समूहलाई ‘अत्यधिक प्रचारमुखी’ भएको आरोप लगाउँदै भने, “गगनजीहरू धेरै पलपुरकी कुरा गर्नुहुन्छ, हामी त्यस्तो गर्दैनौं। शेरबहादुर देउवालाई गलत र आफूहरू मात्र ठीक ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।”

उनका अनुसार, अहिलेको संवैधानिक र राजनीतिक परिप्रेक्ष्यमा निर्वाचनअघि कुनै हालतमा महाधिवेशन गर्न मिल्दैन।

‘सबै गलत, अनि समाधान के ?’

राठौरले सभापति देउवा मात्र होइन, पार्टीका सबै शीर्ष पदाधिकारीहरूलाई दोषारोपण गर्न खोज्नु ‘अविवेकी सोच’ भएको बताए। व्यङ्ग्यात्मक शैलीमा उनले भने, “यदि सबै गलत नै हुन् भने सबै कमिटी भंग गरौँ, अनि जेनजीलाई खोजेर सभापति बनाऔँ।”

उनले देउवाको समर्थन गर्दै थपे, “हाम्रो सभापति निष्कलङ्क व्यक्ति हुन्। यस्तो कार्यवाहक सभापति पाउँदा पनि असन्तुष्ट हुनेहरूको उद्देश्य पार्टी एकता होइन, व्यक्तिगत महत्वाकांक्षा हो।” नेपाली कांग्रेसको हाल चलिरहेको केन्द्रीय समिति बैठक महाधिवेशनको मिति र पार्टीभित्रको नेतृत्व समायोजनका विषयमा केन्द्रीत छ। गगन थापा, विश्वप्रकाश शर्मा र शशांक कोइरालाको समूहले चुनावअघि महाधिवेशनको माग गर्दै आएको छ भने देउवा निकट नेताहरूले त्यसलाई असमयिक र असम्भव बताएका छन्।राठौरको यो टिप्पणीलाई नेताहरूबीचको आन्तरिक तिखोपनको नयाँ संकेतका रूपमा हेरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका